काठमाडौं, फागुन १ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अचानक ल्याउनुको अर्थ र उद्देश्य केही थाहा नभएको प्रतिक्रिया दिएको छ।
सत्ता गठबन्धनका दलहरूले आइतबार प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गरे पनि प्रमुख प्रतिपक्षी दल एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूसँग कुनै छलफल नभएको प्रतिक्रिया दिए।
उनले भने, उहाँहरूले अचानक महाभियोग दर्ता गर्नुभएको रहेछ। कुन उद्देश्यले गर्नुभयो हामीलाई थाहा छैन। त्यसबारेमा आवश्यक कुरा पार्टीबाट औपचारिक रूपमा नै आउँछ।’
त्यसो त प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ। यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ।’
उनले स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको आरोप लगाएको छन्। ‘प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ। सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ’ उनले लेखेका छन्।


























