प्युठान, माघ २२ । प्युठानको ओखरपाटामा भएको जीप दुर्घटनामा आठ जनाको ज्यान गएकोछ।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए। प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप आज बिहान एक बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो।
जीप दुर्घटनामा ज्यान गुमाउने आठ जनाकै पहिचान खुलेको छ। दुर्घटनामा ज्यान गुमाउनेमा एक बालिकासहित पाँच महिला र तीन पुरुष रहेका छन्।
मृतक आठ जनामध्ये एकै परिवारका तीन जना समेत रहेका प्रहरीले जनाएको छ।
दुर्घटनामा गौमुखी गाउँपालिका ६ जिनावबाङका ३९ वर्षीय वसन्त खड्का, उहाँकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरुकी ११ वर्षीया छोरी एलिसा खड्काको ज्यान गएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले जानकारी दिए।
दुर्घटनामा त्यही वडाका २९ वर्षीया केशरी खड्का, ५० वर्षीय जीप चालक बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्काको ज्यान गएको छ। यस्तै नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जीसीको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जीसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया सावित्रा जीसी घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेको थियो। जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियो।


























