माघ १५ । ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो।
शनिबार पोखरा रंगशालामा सम्पन्न खेलको निर्धारित र अतिरिक्त ३० मिनेट २–२ को बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट विजेताको टुङ्गो लागेको हो।
मनाङका फ्रयांङक्लिन टेला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्दा पाँचौ नम्बरमा प्रहारका लागि आएका अफिज ओलावालेले बललाई जाली चुमाउन सकेनन्।
एपीएफका नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ्ग, मणि लामा, आरमन्ड विडङले पेनाल्टीमा कुनै गल्ती गरेनन्।
यसअघि युवराज खड्काले २०औँ मिनेटमा गरेको गोलबाट एपीएफले अग्रता बनाएको थियो। तर, ६७औँ मिनेटमा दयानन्द सिंहले गरेको गोलबाट मनाङ खेलमा फर्किएको थियो।
८३औँ मिनेटमा फ्रयांक्लिन टेलाले गोल गरेपछि मनाङले २-१ को अग्रता बनाएको थियो। यद्यपि, इन्जुरी समयमा रवि थिङ्गले गोल गर्दै एपीएफलाई बराबरीमा फर्काएका थिए।
एपीएफ यसअघि २०६४ सालमा प्रतियोगिताको फाइनलमा पुगेको थियो।


























