चितवन, पुस २८ । पवित्र तीर्थस्थल देवघाट क्षेत्र माघे सङ्क्रान्ति अवधिभर सिल गरिने भएको छ। पुस ३० गते बिहानबाट माघ १ गते बेलुकासम्म देवघाट जाने नाका सिल गर्न लागिएको हो। कोभिडको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले माघे सङ्क्रान्ति मेलामा रोक लगाएको छ।
माघे सङ्क्रातिमा छुट्टै मेला नभएर स्नानका लागि देशभर र भारतबाटसमेत भक्तजन आउने गर्दछन्। प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले छिमेकी जिल्लाका प्रशासन कार्यालयमा जानकारीका लागि पत्राचार गरिसकिएको बताए। उनले भने “स्नानका लागि भक्तजनले दुःख नहोस् भनेर हामीले पूर्व जानकारी गराईसकेका छौं।”
स्थानीय प्रशासनले पूर्वी र पश्चिम नवलपरासी, तनहुँ, रुपन्देही, बारा, पर्सालगायतका जिल्लामा पत्राचारसमेत गरिसकेको छ। कसैकसैलाई स्नान गर्न पाइएला भन्ने लागेर दुःख नपाउन भन्नका लागि आवश्यक जानकारी दिने काम भएको उनले बताए। देवघाट छिर्ने नाका आँपटारी, रामनगर, ठिमुरा र देवघाटमा सुरक्षाकर्मी राखेर सिल गर्न लागेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। मेला भर्न अघिल्लो दिनबाट भक्तजन आउने गर्दछन्। अघिल्लो दिन बिहान देवघाटको वेणीमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिन्छ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले जिल्ला प्रशासन कार्यालय चितवनको पत्रानुसार मेला बन्द गरिएको बताए। सो कार्यालयले २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित भएर कार्यक्रम गर्न र मेला, महोत्सव नगर्न सूचना जारी गरेको छ।
कार्यकारी निर्देशक घिमिरेले मेलाको तयारी गरिएको भए पनि सङ्क्रमण बढेसँगै बन्द गर्नुपरेको बताए। देवघाटमा वृद्धवृद्धा धेरै रहेकाले बाहिरबाट आउने भक्तजनबाट सङ्क्रमण फैलिनसक्ने भन्दै कडाइ गरिएको उनले बताए। उनले भने, “देवघाटमै कल्पबास बसेकाहरुलाई भने दूरी कायम गरी स्नान गर्ने व्यवस्था गरिएको छ।”
समितिले २० वटा उपसमिति बनाएर मेलाको तयारी गरेको थियो। यसवर्ष ५ देखि ७ लाख भक्तजन आउने अनुमान गरिएको थियो। मकर सङ्क्रान्तिमा देवघाटमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास छ। माघे सङ्क्रान्तिमा देवघाटमा देवतासमेत स्नानका लागि आउँछन् भन्ने मान्यता रहिआएको छ। रासस


























