काठमाडौँ, पुस ११ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको संख्या टुङ्गो लगाएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो।
शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो। सोही प्रस्तावलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
उनका अनुसार अब १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने भएको छ। पछिल्लो पटक माओवादी पनि बहुपदीय व्यवस्थामा जाने भएको हो। केन्द्रीय समितिको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने भएका छन्।
यसअघि प्रथम राष्ट्रिय सम्मेलनको नाम दिएको माओवादीले शनिबार मात्रै त्यसलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। सो महाधिवेशनको आज दिउँसो ३ बजे प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन्। मनोनीतसहित प्रतिनिधि एक हजार ६३१ जना रहने व्यवस्था गरिएको छ।


























