काठमाडौँ, मंसिर २२ । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेताहरुको बैठक सकिएको छ। १४औँ महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा देउवालाई नै अघि बढाउने निष्कर्ष निकालिएको नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले बताए।
साझा सभापति चयन गर्न बुधवार देउवा निवास बुढालिनकण्ठमा बसेको देउवा पक्षको समूहले उक्त निष्कर्ष निकालेको हो। देउवामा भिन्नमत भएका व्यक्तिहरुलाई पनि जोड्न सक्ने क्षमता भएकाले उनलाई नै सभापति बनाउने सबै सदस्यहरुको भनाइ रहेको उनले बताए।
देउवाकै नेतृत्वमा पार्टी जानुपर्छ र उनकै नेतृत्वमा आम निवार्चनमा पार्टीलाई सफलता मिल्छ भन्ने धारण सबैले राखेको डा।महतको भनाइ छ।
पदाधिकारीको सदस्यहरुको नाम संकलन गर्ने काम भइरहेको पनि उनले जानकारी दिए। उनले भने,‘त्यस विषयमा अहिल देउवाले छलफल गरिरहेका छन्। ’ केन्द्रीय कार्यसमितिको बैठक भोलि ११ बस्ने उनले बताए।


























