काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्। लिङ्देनले शुक्रबार राष्ट्रिय सभा गृहमा जारी महाधिवेशन बन्द सत्रमा अध्यक्षमा उम्मेदवारी दिएका हुन्।
यस्तै लिङ्देनको प्यानलबाट अभिनेत्री रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन्। हालका अध्यक्ष कमल थापाले पनि उम्मेदवारी दर्ता गर्ने बताइएको छ। यद्यपि उनी अहिले बन्द सत्रमा आइपुगेका छैनन्। राप्रपाले आज उम्मेदवारी दर्ता गर्ने र भोलि मतदान गर्ने कार्य तालिका रहेको छ।
राप्रपाको अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख रुपैँया तोकिएको छ। निर्वाचन कार्यतालिका अनुसार केन्द्रीय उपाध्यक्षको उम्मेदवार बन्न ७५ हजार तोकिएको छ। त्यस्तै केन्द्रीय महामन्त्रीका लागि ५० हजार, केन्द्रीय सदस्यका लागि १५ हजार तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।


























