नारायण अधिकारी, चितवन, मंसिर १२ । नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताले आफ्नै पार्टीका नेता र कार्यकर्ताका बारेमा सटिक टिप्पणी गर्न थालेका छन्। जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट विजेतालाई अबिर, माला र खादाले स्वागत र सम्मानका अभिव्यक्तिले सामाजिक सञ्जाल ‘भाइरल’ नै भइरेहका छन्।
निर्वाचन पराजित भएको जनाउँदै कतिपयले चोकचौराहामा गालीगलौजमा समय खर्चनेको पनि कमी छैनन्। मानौ कि उनीहरु विपक्षी दलहरुसँग जित र पराजित भइरहेका छन्। स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा विपक्षीसँग लड्दा जुन ऊर्जा कांग्रेसले बोकेको थियो त्यो भन्दा थप ऊर्जा आफ्नै पार्टीका नेता, कार्यकर्तालाई हराउन र जिताउनमा कांग्रेसी कार्यकर्ताले समय खर्चेकामा पुराना पुस्ताका कांग्रेसका नेता चिन्तित छन्।
पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन गाउँ तहदेखि नै चुनाव हुने गरेको छ। कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ आफूले सात÷आठवटा निर्वाचनमा प्रतिष्पर्धा र सम्पन्नगरेको भए पनि अहिलेको जस्तो नभएको बताए। उनले भने, “कांग्रेसको अहिलेको विधान परिवर्तन गर्नुपर्छ।” पैसा नहुने निर्वाचनमा भाग लिन नसक्ने अवस्था बनेको उनको बुझाइ छ। आफूले अहिलेसम्म आन्तरिक निर्वाचनमा पोष्टरसमेत नटाँसेको जनाउँदै उनले भने, “आन्तरिक निर्वाचन हारेपछि चोकचोकमा बसेर गालीगलौज गर्नु राम्रो होइन।”
पार्टी नेता, कार्यकर्तामा अनुशासनका कमी भएकामा उनलाई चिन्ता छ। पूर्वराज्यमन्त्रीसमेत हुनुभएका कांग्रेस चिवतनका पूर्वसभापति शेषनाथ अधिकारी पार्टीभित्रको आन्तरिक निर्वाचनमा तल्लोस्तरको गातिविधि भएको जानकारी दिए। पार्टीभित्रको निर्वाचन प्राविधिक पक्ष भएको जनाउँदै उनले यसमा हार–जित नहुने बताए। उनले भने, “यो छनोट हो। हार जित होइन।” साङ्गठनिक प्रक्रियाका लागि नेतृत्व चयन गर्नुपर्ने भए पनि यसलाई बुझाउन नसक्दा समस्या आएको उनको बुझाइ छ। उनले भने, “सङ्गठनको नेतृत्व चयन मात्र हो भनेर बुझाउन जरुरी छ। प्रशिक्षण कमजोर भयो।” कांग्रेसको मर्म बुझाउन नसकिएको हो कि भन्ने उनमा चिन्ता छ।
तत्कालिन संबिधानसभा सदस्य एवं नेपाली काँग्रेस चितवनका पूर्व सभापति रामकृष्ण घिमिरे तडकभडक र बैमनश्यता हुन नहुने बताए। आफ्ना साथीलाई जित्दा र हार्दा धेरै खुशि र निरास हुनुपर्ने अबस्था आउन नहुने उनको बुझाइ छ। ठूलो पार्टी भएकाले धेरैका आशा पदमा हुनु स्वभाबिक रहेको जनाउँदै उनले आन्तरिक नेतृत्व चयनलाई पेचिलो हुनेगरि व्यवहार प्रदर्शन गर्न नहुने सुझाव दिए। विपक्षिहरुसंग लड्नका लागि आन्तरिक निर्वाचनले थप बलियो वनाउने गरि गतिबिधि गर्नुपर्ने उनको राय छ।
अर्का जिल्ला पूर्वसभापति टीकाराम न्यौपाने पार्टीका नेता, कार्यकर्ता अनुशासित बन्न र पार्टीको आन्तरिक निर्वाचनमा आर्थिक चलखेल हुन दिनुहुँदैन उनी भन्छन्, “यसरी नै अघि बढ्यो भने पार्टी कमजोर बन्छ।” पार्टीमा योगदान दिएकालाई जिम्मेवारीमा ल्याएर सङ्गठन बलियो बनाउनुपर्ने उनको भनाइ छ। आन्तरिक निर्वाचन भड्किलो बन्न नहुने पूर्व सभापति न्यौपानेले बताए।
झण्डै पाँच वर्ष छ महिनापछि कांग्रेसको गाउँदेखि जिल्लासम्म निर्वाचन भइरहेको छ। गतको स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा पराजय व्यहोरेको कांग्रेसलाई अबको निर्वाचनमा पहिलो शक्ति बनाउनुपर्ने पुराना नेताहरु बताउँछन्। स्थानीय निर्वाचनको सङ्घारमा भइरहेको अहिलेको आन्तरिक निर्वाचनले असर पैदा गर्ने हो कि भन्ने चिन्ता उनीहरुमा छ। जिल्लाका पूर्वसभापति पछिल्लो समयको भड्किलो आन्तरिक निर्वाचनलाई व्यवस्थित गरी पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिन्छन्। नेता, कार्यकर्तालाई बुझाउन नसक्दा आफ्नो क्षमताभन्दा फरक पदमा उम्मेदवारी दिने, भड्किलो प्रचार गर्ने, पराजित भएपछि गालीगलोजमा उत्रने गर्दा यसको प्रत्यक्ष असर विपक्षीसँग लड्ने निर्वाचनमा देखिन सक्नेमा उनीहरुको चिन्ता छ। रासस


























