चितवन, कार्तिक २९। चितवनका विभिन्न क्षेत्रमा आज बिहानैदेखि एकदशी मेला लागेको छ। पुर्बी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ८ चित्रसारी, खैरहनीको मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको हो।
मेलाको प्रमुख आकर्षण उखु र सखरखण्ड रहने गरेको छ। मेलामा सबैभन्दा धेरै उखु र सखरखण्डको बिक्री हुने गरेको छ।
विशेषगरी थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको चित्रसारीमा मेला लाग्ने गर्दछ। मेलामा थारू समुदायसँग सम्बन्धित संस्कृति र परम्पराका वस्तुहरु राखिएको छ। पहिले थारू समुदायको मात्र सहभागिता रहने चित्रसारी मेलामा अहिले अन्य समुदायका मानिसको पनि भीड लाग्ने गरेको छ।
यस्तै थारू समुदायको बाक्लो उपस्थिति रहेको पूर्वी चितवनको चित्रसारीमा चितवन जिल्लाकै सबैभन्दा पुरानो चित्रसेन बाबाको मन्दिरमा एकादशीको दिन पूजा गर्ने भक्तजनहरुको भिड लाग्ने गर्छ। चितोनिया थारु समुदायले चित्रसेन बाबालाई श्रद्धापूर्वक पूजाआजा गर्ने गर्दछन्।
चित्रसेन बाबाको थानमा हरिबोधनी एकादशीको मेला किन र कहिले देखि शुरु भएको हो। त्यसको आधिकारिक जानकारी हालसम्म हुन सकेको छैन। यसको लागि अनुसन्धानको खाँचो छ। सबै समुदायको आस्थाको केन्द्र चित्रसेन बाबाको थानको प्राङ्गणमा बर्षेनी कार्तिक शुक्ल हरिबोधनी एकादशीका दिन मेला लागि श्रद्धापूर्वक पूजाआजा गर्न हजारौ श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ।
यस्तै खैरहनी–७ मझुईको ब्रह्मथानमा पनि मेला लागेको छ। थारूहरुले मान्दै आएको ब्रह्मथान (मन्दिर) मा एकादशीको दिन पूजासँगै नाचगान गर्ने प्रचलन रहेको छ।
हरिबोधिनी एकादशी, भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो। व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन्। हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ। असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ।


























