कार्तिक ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्र देशको नेता पार्टी रहेको बताएका छन्।
जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई नीति व्यवहार र आचरणको रुपमा सबैलाई मार्गदर्शन गर्नु पर्ने बताए। उनले पार्टीका कामलाई नमूना कामका रुपमा मार्गदर्शन गराउनुपर्ने बताए।
आफ्नै नेतृत्वमा संविधान कार्यान्वयनका क्रममा गएको बताउँदै उनले संविधान अनुसार नै सबै तहको निर्वाचन गरिएको र अब पार्टीलाई पनि संविधान अनुसार नै अघि बढाउने बताए। उनले शक्ति विन्यास, स्रोत बाँडफाँडका रुपमा पनि पार्टीलाई संविधान अनुसार नै हुने उनले स्पष्ट पारे।
एमालेले ८ हजारभन्दा बढी कमिटीहरू गठन गरेको बताएका छन्। यी कमिटीलाई परिचालन गर्ने पार्टीले नै रहेको बताउँदै ओलीले त्यसका लागि आवधिक रुपमा अधिवेशन र सम्मेलन गरिने बताए।
सात दशकको अवस्थामा पार्टीले धेरै उत्तार चढाव भोगेको भन्दै धेरैले बलिदान दिएर यो अवस्था आएको बताए। उनले एमालेलाई यो स्थानमा ल्याउन प्रेरणा दिने अग्रज प्रति आदर सद्भाव व्यक्त गर्दै सोही मार्ग दर्शनबाट अघि बढ्ने बताए।
पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा ओलीले अधिवेशन उद्घाटन भएको घोषणा गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान गरेका छन्।
पार्टीका आधारभूत संगठन भनेकै वडा र शाखा संगठनको अधिवेशन भएको भन्दै उनले यति धेरैवटा वडा अधिवेशन उद्घाटन गर्नु सहज नभएको भन्दै पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिए।
कार्यक्रममा सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवालीलाई दायाँ बाँया राखेर उद्घाटन मन्तव्य दिइरहेका ओलीसँग विगतमा नजिकै बस्ने रामबहादुर थापा ‘बादल’ र उपाध्यक्ष भीम रावललगायतका नेता भने देखिएका छैनन्। सुरेन्द्र पाण्डेलगायतका नेता भने मञ्चमा उपस्थित छन्।
पार्टी प्रवक्ता योगेश भट्टराई विरामी परेर अस्पताल भर्ना भएका कारण कार्यक्रमको संचालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन्।
आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो। बाढी पहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन स्थगित भएका छन्। एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुँदैछ।
शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियो।


























