असोज २३ । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ।
त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो। चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो। उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ। उपविजेता बनेको पोखराले १५ लाखमा चित्त बुझाएको छ।
पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै दिलिप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए। मोहमद साहजदले ११ रन जोड्दा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहदा सेकुग्गे प्रसन्न १ रनमा अविजित रहे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १११ रन बनाएको थियो। पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए। रिचार्ड लेभीले २६ रन जोड्दा विपिन रावलले १७ रन बनाए।
कप्तान विनोद भण्डारीले २२ रन बनाए। किशोर महतो १ रनमा अविजित रहे। विवेक यादव ४, रित गौतम २, सहन अर्चाचिगे २ बिक्रम सोब १ रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए। पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए। उनले मात्र २० रन खर्चिए।
यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ विकेट लिए। सोमपाल कामी र सागर ढकालको नाममा १/१ विकेट रह्यो।


























