काठमाडौं, भदौ २८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको राजीनामा मागेको छ। एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै आएको एमालेले प्रतिनिधिसभा लगातार अवरोध गरिरहेको छ।
संसदको अवरोध खुलाउन विषयमा सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन्। सो बैठकमा पनि एमाले नजाने भएको छ। एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा गएर केही उपलब्धि नहुने भएकाले आफूहरु बैठकमा नजाने बताए।
उनले भने, ‘एमाले विभाजनमा उहाँको भूमिका छ। उहाँ बोलाएको बैठकमा के उपलब्धि हुन्छ छ र? त्यसैले जाँदैनौँ।’ उनले सभामुख सापकोटाले राजीनामा दिनुपर्ने बताए। उनले भने, ‘हामीले कारबाही गरेका १४ जना सांसदलाई कि कारबाही गरेको सूचना ढिलै भए पनि टास्नु पर्यो कि राजीनामा दिनुपर्यो।’
भदौ १ गते एमालेले साउन २५ को निर्णय भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरिएको सूचना संसद सचिवालयमा दर्ता गराएको थियो। तर, सभामुख सापकोटाले सो विषयमा ‘अध्ययन’ गरिरहेको बताएर सूचना प्रकाशित गरेनन्। भदौ २ मा माधवकुमार नेपालसहितका सांसदहरुले एमाले विभाजन गर्दै नयाँ दलका लागि निर्वाचन आयोगमा निवेदन दिए। भदौ ९ गते निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) लाई वैधता दियो।
निर्वाचन आयोगले एमाले विभाजन गरेर बनेको दललाई वैधता दिएपछि सभामुख सापकोटाले ती १४ जना सांसदलाई कारबाही गरिएको सूचना प्रकाशित गर्नुनपर्ने निर्णय लिए। यही विषयलाई लिएर एमालेले सभामुखले एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएको छ।
यो प्रकरणमा एमालेले १४ जना सांसद विरुद्ध सर्वोच्चमा मुद्दा पनि दायर गरेको छ। सोमबार सो मुद्दाको सुनुवाइ हुँदैछ।


























