काठमाडौं, भदौ २८ । संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गरेका छन्।
प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गरेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ। दिउँसो २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई डाकिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिए।
कारबाही गरिएका आफ्ना १४ सांसदलाई सभामुखले १३ दिनसम्म निर्णय नगर्दा दल विभाजन भएको भन्दै एमाले सभामुखविरूद्ध आन्दोलित छ। एमालेले सभामुखले गल्ती बोध गरेर आत्मालोचना गर्नुपर्ने अडान राख्दै संसद् अवरूद्ध गर्दै आएको छ।
एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) ले भदौ ९ गते प्रमाणपत्र पाएको थियो। तर, एमालेले कारबाही गरेका १४ सांसदको निर्णय आजै सर्वोच्च अदालतले गर्ने सम्भावना रहेकाले यही मुद्दालाई आधार मानेर अबको संसद बैठक अवरूद्ध हुने सम्भावना कम छ।


























