काठमाडौं, भदौ २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसीलाई हतियार बनाएर गठबन्धन फुटाउने षडयन्त्र भइरहेको दाबी गरेका छन्।
सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २३औँ स्मृतिमा बुधबार आयोजित कार्यक्रममा बोल्दै दाहालले अमेरिकी सहायत परियोजना (एमसीसी) लाई उचालेर गठबन्धन फुटाउने प्रयत्न जोडदाररूपमा भइरहेको बताए।
‘एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘देशभित्र र बाह्य केही शक्ति केन्द्र हात धोएरै यसमा लागेका छन्।’
उनले यथास्थितिमा एमसीसी पारित नहुने अडान फेरि एक दोहोर्याएका छन्। अस्पष्ट विषयबारे प्रष्ट पार्न अमेरिकालाई पत्र पठाइएकाले त्यसमा उसले दिने जवाफमा धेरै कुरा भर पर्ने उनको भनाइ छ।
माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउने षड्यन्त्र पनि भइरहँदा पार्टीलाई रुपान्तरण गर्न नेतृत्वले दबाब सिर्जना गर्ने अवस्था आएको पनि उनले गुनासो गरे।क्रान्ति गर्छौं भन्नेहरु नै प्रतिक्रान्तिकारी भएको र गुट बनाउँदै लालचमा फसेको उनको भनाइ छ।


























