काठमाडौं, भदौ १२ । मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो चार वटा प्रदेशमा भारी वर्षा तथा राति छ वटा प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको छ। दिउँसो प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भाबना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ।
सोमबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहे पनि अब लगातारको झरी भने कम हुने मौसमविद् मीनकुमार अर्यालले जनाएका छन्। वर्षा गराउने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने क्रम पनि कम हुने उनले जनाएका छन्। तथापि केही दिनदेखिको वर्षाले तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा डुबान तथा पहिरोको जोखिम रहेकाले सतर्क रहन आह्वान गरिएको छ।
‘पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ।


























