काठमाडौं, भदौ ११ । कांग्रेस सभापति विमलेन्द्र निधिले युवाहरुलाई नेतृत्वमा अगाडि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शुक्रबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्दै उनले सार्वजनिक रुपमा सभापतिमा उम्मेदवारी घोषणा गरे।
सो क्रममा निधिले अहिले ३५ प्रतिशत युवाहरु कांग्रेसको क्रियाशील सदस्य बनेको भन्दै ती युवाहरुलाई नेतृत्वमा ल्याउन पनि आफूले सभापतिमा उम्मेदवारी दिनुपर्ने अवस्था आएको बताए। उनले कसैसँग शत्रुतता नरहेको भन्दै मित्रवत् प्रतिस्पर्धा गरिने बताए। उनले भने, ‘म कसैलाई रिटायर गर्न उम्मेदवार बन्न लागेको होइन। सबैले मित्रवत् प्रतिस्पर्धा गर्ने हो।’
नेपाल विद्यार्थी संघको राजनीतिदेखि सभापति शेरबहादुर देउवासँग निकट रहेका उनले १३ औं महाधिवेशनमा देउवालाई समर्थन गरेका थिए। त्यतिबेला १४ औं महाधिवेशनमा देउवाले सहयोग गर्ने बताएको आफु निकटहरुसँग निधिले बताउने गरेका छन्। तर, १४ औं महाधिवेशनमा सभापतिमा पुनः दोहोरिन देउवा आफै कस्सिएका छन्।
निधिले शुक्रबार तामझामका साथ सम्पर्क कार्यालय स्थापना गरेसँगै देउवा समूहबाट देउवा निर्विकल्प उम्मेदवार नहुने प्रस्ट भएको छ।
यसअघि देउवा समूहबाट देउवा नै निर्विकल्प उम्मेदवार हुने चर्चा थियो। तर, निधिको पाइला अब नरोकिने देखिएको छ। देउवा इतर समूहमा भने आधा दर्जनभन्दा धेरै सभापतिका आकांक्षी छन्। तर देउवालाई पराजित गर्न पौडेल समूहबाट एकजना उम्मेवार बनाउने कसरत भने जारी छ। अब निधिको भूमिकाले देउवालाई समस्या पार्न सक्ने देखिएको छ।
आगामी मसिंर दोस्रो साता कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ। यही भदौ १८ मा वडा अधिवेशन हुँदैछ। वडा अधिवेशनका लागि शुक्रबार नै ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाइएको छ।


























