चितवन, भदौ ११ । अवरुद्ध नारायणगढ- मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।
बिहीबार बेलुकादेखि सेती दोभानमा खसेको पहिरो आज बिहान पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। बिहान साढे ५ देखि पहिरो पन्छाउन सुरु गरी करिब सवा ९ बजे दुईतर्फी सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
कार्यालयका निमित्त प्रमुख सूर्यबहादुर थापाले भने, “सवा ९ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी छ। तर, अझै पनि लेदो बग्ने क्रम जारी छ। हेरौँ, कति समयसम्म सडक सञ्चालन गर्न सकिन्छ।”
सोही ठाउँको १४ किलोमा सडक चिरिएका कारण थप जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ। आज बिहान करिब साढे ४ बजेतिर पाँच किलोमासमेत सुक्खा पहिरो खसेको थियो। सो पहिरो पनि पन्छाएर सडक सञ्चालनमा ल्याइएको थापाले बताए।
Facebook Comments


























