काठमाडौं, साउन २९ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बोलाइएको छ। बैठक बिहान ११ बजेलाई बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ।
बैठकले क्रियाशील सदस्य विवाद हल गर्दै अघि बढ्ने बारे निर्णय लिने शर्माले बताए। यसअघि बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए।
बैठकमा समितिका सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा राखेका थिए।
समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकीसहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनअनुसार १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ।


























