काठमाडौं, असार २८ । सर्वोच्च अदालतले प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ। सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पुनर्स्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी वैध भएको ठहर गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुग्ने भन्दै बदर गरेकी थिइन्।
त्यसपछि देउवाले १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा सशरीर उपस्थित भइ राष्ट्रपतिको निर्णयविरुद्ध परमादेश माग गरेका थिए। संसदको बैठक ६ दिनभित्र बोलाउन पनि अदालतले आदेश दिएको छ। अदातले संविधानको धारा ७६(५) बमोजिम कुनै सदस्यले प्रधानमन्त्री दाबी गरे ह्वीप नलाग्ने पनि सर्वोच्चले आदेश दिएको छ।




















