चितवन, असार १७ । दुई महिनादेखि बन्द अवस्थामा रहेको भरतपुर विमानस्थलले आजदेखि उडान शुरु गर्ने तयारी गरेको छ। कोरोना सङ्क्रमणका कारण निषेधाज्ञासँगै बन्द भएका यहाँको उडान पुनः शुरु गर्न लागिएको हो।
विमानस्थल प्रमुख योगेन्द्र कुँवरले कोभिड नियन्त्रणको सुरक्षा मापदण्ड कार्यविधिअनुसार विमानस्थलमा उडान शुरु गर्न लागिएको जानकारी दिए। स्थानीय प्रशासनले गत वैशाख १६ गते रातिदेखि निषेधाज्ञा गरेसँगै बन्द भएको उडान आजबाट शुरु गर्न लागिएको हो। उनले मास्क, भाइजर, सामाजिक दूरी कायम गर्नुपर्ने, डिस इन्फेक्सन गरेर मात्रै उडान गर्नुपर्ने उनले जानकारी दिए। शुरुआती समयमा उडान कम हुने उनले बताए। भरतपुर विमानस्थलमा यात्रुलाई बस्नका लागि बनाइएका प्रतिक्षालयमा सामाजिक दूरी कायम गर्नका लागि सन्देशमूलक चिह राखिएको उनको भनाइ छ।
निषेधाज्ञाअघि विमानस्थलबाट आठ सयदेखि एक हजारसम्म यात्रु दैनिक आवतजावत गर्ने गरेको उनले बताए। बुद्ध एयर भरतपुरका प्रबन्धक भक्त बस्नेतले आजदेखि शुरु गर्न लागिएको उडान कटौती गरिएको जानकारी दिए। दैनिक छ वटासम्म चितवन–काठमाडौँ उडान हुँदै आएकामा अहिले तीन मात्र उडान हुने उनले बताए। उनका अनुसार स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी उडान गरिने छ। त्यसका लागि तयारी गरिएको बस्नेतको भनाइ छ। यसअघि बुद्धसँगै भरतपुरबाट यती एयरलाइन्सले दैनिक चारसम्म उडान भर्दै आएको थियो। रासस

























