काठमाडौं, असार १६ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज पनि सरकारी पक्षले बहस गर्दैछ। आज सरकारी पक्षका तर्फबाट तोकिएका ११ जनामध्ये छ जनाले बहस गर्नेछन् । मंगलबारसम्म पाँच जनाले बहस सकेका छन्।
संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समयमध्ये अब ७ घण्टा ५५ मिनेट बाँकी रहेकाले उनीहरूको बसह बिहीबार मात्रै सकिनेछ। त्यसपछि सभामुख अग्नी सापकोटाका पक्षधर कानून व्यवसायीको बहस शुरू हुनेछ।
त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन्। जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी) को बहस हुनेछ। त्यसपछि फैसला हुनेछ। सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो।
गत जेठ ७ गते मध्यराति मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोकेपछि सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन्।


























