चितवन, असार १६ । नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेस स्वतन्त्रता नियन्त्रित गर्ने कार्य स्वीकार गर्न नसकिने जनाएको छ। महासंघका अध्यक्ष नारायण अधिकारीले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित गर्ने कार्य महासंघलाई स्वीकार्य नभएको जनाएका हुन्।
असार १० गते वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा भएको भरतपुर महानगरपालिकाको नगरपरिषद्मा पत्रकारलाई प्रवेश नदिएको घटनाका सम्बन्धमा महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जारी विज्ञप्तिमा भनिएको छ “समाचार संकलनार्थ पुगेका पत्रकारहरुलाई सहज रुपमा समाचार संकलन गर्न दिनुपर्छ भन्ने महासंघको मान्यता छ।”
महासंघले पत्रकारहरुको हक, हित र प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सूचनामा सहज पहुँचका लागि उपयुक्त वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। विज्ञप्तिमा भनिएको छ “महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं पत्रकारिताको मर्म र भावनाविरुद्ध हुने जुनसुकै कार्यको विरोध गर्दछ।”
भरतपुर महानगरको नगर परिषद्मा चितवन पोष्ट दैनिकका संवाददाता कुल काफ्लेलाई प्रवेशमा रोक लगाईएको थियो। समाचार संकलन गर्न पुगेका काफ्लेलाई हलमा प्रवेश गर्न नदिई फिर्ता पठाईएको थियो।
उक्त घटनाको यस अघि नै प्रेस चौतारी चितवन लगायतका पत्रकार सम्बद्ध संघ संगठनहरुले पनि विज्ञप्ति निकालेर विरोध गरेका थिए।



























