काठमाडौं, असार १५ । पार्टीको महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफलले तीव्रता पाएको छ।
मंगलबार सिंह निवास चाक्सीबारीमा तीन नेताबीच महाधिवशेन र सभापतिको उम्मेद्वारीका बिषयमा छलफल भएको हो। तोकिएको समयमा नै १४ औं महाधिवेशन सम्पन्न गराउने र क्रियाशील सदस्यताका साथै समायोजनाका विषयमा छलफल भएको नेता सिंहले बताए। उनले महाधिवेशनलाई लोकतान्त्रिक पद्धतिअनुसार अघि बढाउनका लागि प्रक्रिया पूरा गरेकालाई क्रियाशील सदस्यता दिनुपर्नेमा छलफल भएको बताए।
अहिलेको अवस्थामा पार्टीलाई लोकतान्त्रिक पद्धतिअनुसार चलाउनका लागि शुक्रबार कोइराला निवासमा सबै केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने सहमति भएको उनको भनाइ छ। यसअघिको महाधिवेशनमा सभापतिको उम्मेद्वार भएकासँग पनि छलफल गर्ने उनले जानकारी दिए।
सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी छन्। निधि वर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन् छन् भने सिंह र कोइराला संस्थापन इतरमा छन्। यसअघि पनि तीन नेताबीच लगातार छलफल भइरहेको छ।


























