चितवन, असार १५ । पहाडी जिल्लाबाट आएर बस्ती बसाल्ने बेलामै ‘धानको भात खान पाइन्छ भनेर मधेश झरेका’ भन्ने सुनेका वृद्धहरु खोज्ने हो भने अझै भेटिन्छन्। त्यसैले पनि चितवनलाई धान उत्पादनको लागि उर्वर भूमिको रुपमा लिने गरिन्छ। कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार चितवनमा ४६ हजार ८७९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ, जसमध्ये ४४ हजार २९१ हेक्टर जमिनमा खेती भइरहेको ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताए। धान उत्पादनको क्षेत्रफल भने चितवनमा २७ हजार ४४५ हेक्टर छ। चितवनमा चैते र वर्षे गरी दुई सिजनमा धान खेती गरिन्छ।
पछिल्लो समय परम्परागत धान उत्पादनसँगै किसानहरुले विकल्प खोज्दै केराखेती, हरियो तरकारी खेती र माछा पालनलगायतका पेसा पनि अपनाएका छन्। त्यसले धान रोप्ने खेतको क्षेत्रफलमा केही असर गरेकै छ। तर यसवर्ष ज्ञान केन्द्रले विगतका भन्दा २० प्रतिशत बढी क्षेत्रफलमा धान खेती हुने अनुमान गरेको छ। ‘तरकारी खेती गर्ने किसान पनि धान खेतीमै फर्किएका कारण यसवर्ष करिब २० प्रतिशत बढ्ने अनुमान गरेका छौँ,’ उनले भने।
यहाँको उत्पादनले चितवनबाहेक बाहिरी जिल्लामा पनि निर्यात हुँदै आएको छ। विशेष गरी चितवनमा साबित्री, सावा मंसुली, रामधान, हर्दीनाथ १ र ३, चैते ५, बहुगुणी १ र २ लगायत सरकारले सूचित गरिएका खुला सेचित र हाइब्रिड गरी १३० जातका धान लगाउने गरेको ज्ञान केन्द्रका प्रमुख ढकालले बताए। उनका अनुसार हालसम्मको अनुमानमा सबैभन्दा बढी क्षेत्रफलमा साबित्री धान खेती हुने गरेका छन्। नेपालमै कृषि क्षेत्रको गाह्रस्थ उत्पादनमा १५ प्रतिशतभन्दा बढी योगदान छ। जसले गर्दा धानले नेपालीको खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता कायमका साथै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ।
गतवर्ष गरिमा धानले धुरुक्कै रुवाएको किसानलाई पछिल्लो समय हर्दीनाथ १ मा भने घाँटी मरुवा रोग लाग्ने समस्या दखिएको छ।
खेतीप्रणालीमा यान्त्रिकरण
चितवनको कृषिमा पछिल्ला केही वर्षयता यान्त्रिकरण र आधुनिकीकरणले खुबै मान्यता पाएको छ। कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र स्थानीय सरकारको पहलमा कृषकसम्बन्धि विभिन्न समूह तथा सहकारीहरुले कृषि यान्त्रिकरण प्राप्त गरेका छन्। स्थानीय तहबाट पनि किसान र किसान सम्वद्ध कृषि समूहलाई विभिन्न खालका मेसिन तथा औजारहरु उपलब्ध गराउने होडबाजी नै चलेको छ, जुन किसानको लागि फाइदाकै कुरा हो।
धान रोप्नेदेखि काट्ने र झार गोड्नेसम्मका मेसिन चितवन भित्रिइसकेका छन्। केही किसानहरुले परीक्षणसमेत गरिसकेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमल्सेना बताउँछन्। किसानलाई कम लागतमा उत्पादन गर्न सकिने गरी कृषि यान्त्रिकरण भित्रिए पनि केही मेसिन भने वर्षमा हप्ता दस दिन जति मात्रै काम हुने हुँदा त्यसले लगानी उठाउन लामो समय लाग्ने हुँदा सरकारी क्षेत्रबाट त्यस्ता औजारमा ध्यान दिन उनले आग्रह गरे।


‘हिजो गोरु जोत्दाजोत्दै ट्याक्टर आएपछि त्यसलाई पनि कृषिमा यान्त्रिकरण मान्यौँ। तर अहिले यो सामान्य भइसक्यो। यसलाई यान्त्रिकरण भनिरहनु आवश्यक छैन,’ उनले भने, ‘अब त किसानको आवश्यकता र सहजताको हिसाबले सबैखाले काम गर्ने यन्त्र उपकरण चाहिन्छ।’ हालसम्म चितवनमा नयाँ प्रविधिमा आधारित एमबी प्लो तीनवटा, ल्याण्ड लेजर लेभलर चारवटा, हिलोमा धान छर्ने ड्रम सिडर चारवटा, धूलोमा सीधै धान छर्ने सिडकम फर्टिलाइजर ड्रिल १० वटा, नर्सरी बिरुवा राख्ने मेसिन चारवटा, धान रोप्ने मेसिन ९ वटा, कम्बाइन्ड हार्भेस्टर पाँच वटा, पराल पेल्ने बेलर मेसिन एउटा प्रयोगमा रहेको उनले बताए।
साथै धान काट्ने मेसिन, मल छर्ने र झार गोड्ने मेसिन, ट्याक्टर, रोटाभेटरलगायतका उपकरणहरु जिल्लाभित्र प्रशस्तै भइसकेको उनले बताए। सरकारी क्षेत्रबाट पाएका बाहेक पनि किसान आफैँले खरिद गरेका र केही समूहले खरिद गरेर नयाँ प्रविधिअनुसार खेतीपाती गर्न थालिसकेका उनको भनाइ छ।
धान दिवसमा रोपाईँसँगै दही च्यूरा
त्यसो त आज किसानहरुका लागि विशेष दिन पनि हो। विक्रम संवत २०६२ सालको असार १५ देखि हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवको रुपमा मनाउँदै आइएको छ। यस दिनमा खेतमा काम गरी दही च्यूरा खाने पुरानै चलन छ। खेतबारी नै नभएकाहरुले पनि घरमै दही च्यूरामा केरा हालेर खाने र दिवस मनाउने चलन बसिसकेको छ।
खासगरी कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता प्रदान गर्नुका साथै शक्ति सञ्चय गर्ने विश्वास पनि गरिन्छ। त्यसैले असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिने गरिन्छ। नेपाली समाजमा दहीको महत्त्व छुट्टै छ। हरेक शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा टीका लगाउने परम्परा छ।

वैज्ञानिक दृष्टिकोणबाट पनि दहीलाई स्वास्थ्यवर्द्वक पदार्थ मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए। मानो रोपेर मुरी उब्जाउने समयको रुपमा लिइने असार महिनाभर असारे भाकामा गीत गाउँदै रोपाईँ गर्ने पुरानो चलन छ। तर हिजोआज भने परम्परा धान्नको लागि मात्रै रोपाईँमा गीत गाउने गरिन्छ।
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाइ कुलो लगाइ पानी आएर गोडौँला’, ‘असारे मासको दबदबे हिलो, जहाँ नेर टेक्यो उही नेर गिलो हातमा कोदाली’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन पनि यदाकदा पाइन्छ।
चितवनमा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरणले रत्ननगर १५ पिठूवास्थित माधवपुर कृषि सहकारीसँगको सहकार्यमा धान रोपाईँ गरेर धान दिवस मनाउँदैछ।


























