काठमाडौं, असार १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधकारी बैठक डाकेका छन्। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा क्रियाशील सदस्यता विवादको विषय छलफल हुने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
क्रियाशील सदस्यता लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्म दिएको समयावधि बढाएर १७ गतेसम्म पुर्याएको कांग्रेसले त्यसअघि नै विवाद मिलाउन देउवाले अग्रसरता लिएका हुन्।
केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन गरिरहेका बेला सम्भव भएसम्म विवाद मिलाएर महाधिवेशन केन्द्रित अरू कार्यक्रम अघि बढाउने देउवाको तयारी छ।
८ लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा १० लाख क्रियाशील सदस्य बनाउन खोज्दा विभिन्न जिल्लाबाट उजुरी परेका छन्। ४२ जिल्लाबाट ठूलो संख्यामा उजुरी आएको छ। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ।


























