काठमाडौं, असार १२ । नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् तथा प्रदेश कमिटी लगायतका संरचनामा पूर्व माओवादीको समायोजनका विषयमा सो समूहका नेताहरुबीच अनौपचारिक छलफल भएको छ।
नेकपा विभाजनपछि तत्कालीन नेकपाको केपी ओली पक्षमा लागेका नेता कार्यकर्ताहरू फागुन २३ को फैसलासँगै एमाले बनेका छन्। उनीहरुको समायोजनका लागि शनिबार पूर्व माओवादी समूहका नेताहरूबीच अनौपचारिक छलफल भएको हो।
रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणी थापा, प्रभु शाह लगायतका नेताहरुबीच भएको छलफलमा सांगठनिक समायोजनमात्र नभएर बैचारिक एकताका विषयमा समेत एकमत हुनुपर्ने कुरा उठेको बताइएको छ।
स्थायी कमिटी सदस्य मणि थापाले भने विभिन्न कमिटीहरुमा समायोजन लगायतका विषयमा छलफल भएको बताए। नेकपा विभाजनपछिको निरन्तरता नै अदालतको फैसलापछिको एमाले भएकाले सोही अनुसार विचार,राजनीति र संगठनमा पार्टी एक हुने उनले बताए।
एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी,केन्द्रीय निकाय र विभागहरुमा समायोजनका लागि पूर्व माओवादीबाट एमालेसँग एकीकृत भएका नेता कार्यकर्ताको सूचीमाथि समेत छलफल भइरहेको बादल समूहका नेताहरुले बताएका छन्।
नेकपा विभाजनपछि ओली पक्षले साबिक नेकपाको ४ सय ४१ सदस्यी केन्द्रीय कमिटीमा बढाएर बनाएको १ हजार सदस्यीय केन्द्रीय कमिटीका नयाँ सबै सदस्यहरु राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने निर्णय भएको छ।
त्यस्तै एमालेका विभिन्न विभाग र निकायहरुमा पनि पूर्व माओवादीको समायोजन गर्नका लागि गृहकार्य भइरहेको छ। संगठन विभागले तयार पारेको विवरण अनुसार महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव तयार पारिरहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले फागुन २३ पछि पुनःस्थापित भएको नेकपा एमाले पूरानो एमाले नभई नेकपा एकतापछि समाहित भएका व्यक्तिहरुसहितको पार्टी भएको बताउँदै आएका छन्।
पूर्व माओवादी समूहमा मतान्तर रहेको भनिएका बेला बादलको नेतृत्वमा शनिवार बैठक बसेको हो। प्रभु साहले भने सांगठनिक भन्दा पनि वैचारिक रुपमा साबिक नेकपाको निरन्तरताका रुपमा एमालेलाई अघि बढाउनुपर्ने प्रस्ताव राखेका छन्।


























