चितवन, असार १० । कालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले नवौं नगरसभामा आर्थिक वर्ष २०७८/७९ का लागी १ अर्व ७ करोड २२ लाख ३९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो।
नगरसभामा नगरपालिकाकी उपप्रमुख कमला भट्टराईले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ वडा र राजस्व शाखाबाट ४ करोड,रजिष्ट्रेसन शुल्क मालपोत बाट ४ करोड, राजश्व वाडफाड खोला जन्य बाट एक करोड, संघिय सरकारतर्फ सशर्त अनुदानवाट २४ करोड ७ लाख, सामानिकरण अनुदानबाट १४ करोड ६९ लाख, राजश्व बाडफाडबाट ९ करोड ५७ लाख ६२ हजार, समपुरक अनुदानबाट १ करोड ४५ लाख आय हुने अनुमान गरिएको छ।
त्यस्तै प्रदेश सरकार तर्फ सामानिकरण अनुदानबाट १ करोड २५ लाख ७२ हजार, सशर्त अनुदानबाट २ करोड १९ लाख ४४ हजार, राजस्व बाँडफाडबाट ४ करोड ७४ लाख ६२ हजार, समपुरक अनुदानबाट २ करोड ९९ लाख ८८ हजार र विशेष अनुदानबाट ३० लाख आय हुने अनुमान गरिएको उपप्रमुख भट्टराईले जानकारी दिइन्।
नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमितको उपचारलाई प्रभावकारी बनाई समग्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने निती लिएर आगामी आर्थिक बर्षको लागी स्वास्थतर्फ २ करोड ९३ लाख ६५ हजार रुपैयाँ विनीयोजन गरेको छ। उत्पादनमा आत्मनिर्भर बन्दै गएको नगरपालिकाले कृषि र पशुपालन ब्यवसायीलाई थप सहुलियत प्रदान गरि प्रतिस्प्रधी, ब्यवस्थित, गुणस्तरिय र निर्यातयोग्य बनाउने उद्धेश्य लिएर कृषितर्फ ४९ लाख रकम विनीयोजन गरेको छ। त्यस्तै शैक्षीक पुर्वाधार निर्माणलाई निरन्तरता दिदै सामुदायिक शिक्षालाई गुणस्तरिय बनाउने लक्ष्य लिएर नगरपालिकाले आगामी आर्थिक वर्षका लागी शिक्षातर्फ २ करोड ३९ लाख २८ हजार रकम विनीयोजन गरिएको उपप्रमुख भट्टराईले बताइन। नगरपालिकाले आधारभुत शहरी तथा ग्रामीण पूर्वाधार निर्माणलाई सरकारी निजी क्षेत्र संग सहकार्य गरि पुर्वाधार निर्माण गर्ने उद्धेश्य लिएर पुर्वाधार तर्फ १२ करोड ३९ लाख ६१ हजार रकम विनीयोजन गरेको छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाले ३ करोड ३ लाख राजश्व संकलन हुने अनुमान गरेकोमा जेष्ठ मसान्त सम्म २ करोड ७७ लाख मात्र उठेको र आर्थिक वर्षको अन्त्यमा ३ करोड संकलन हुने संसोधित अनुमान पेश गरेको नगर उपप्रमुख भट्टराईले जानकारी दिइन्। त्यस्तै चालु आर्थिक वर्षमा नगरपालिकाको कुल खर्च १ अर्व ४ करोड ९२ लाख हुने अनुमान गरिएकोमा संघिय सरकार तथा प्रदेश बाट थप बजेट प्राप्त भई १ अर्व १३ करोड ३२ लाख कायम भएको भट्टराईले बताइन्। नगरपालिकाको चालु आर्थिक बर्षको जेष्ठ मसान्त सम्म चालु तर्फ ४० करोड ७२ लाख मध्य २८ करोड ६३ लाख अर्थात ७० दशमलव ३१ प्रतिशत खर्च र पूँजिगत तर्फ ७२ करोड ६० लाख मध्य ३० करोड ९७ लाख अर्थात ४२ दशमलब ६६ प्रतिशत खर्च भएको नगरपालिकाले बजेट बक्तब्यमा उल्लेख गरेको छ।
नगर सभामा वोल्दै नगरप्रमुख खुमनारायण श्रेष्ठले आर्थिक वर्ष २०७६/७७ मा २३ किलोमीटर सडक कालोपत्रे भएको वताउदै शहरी क्षेत्रका मुख्य सवै सडकहरु कालोपत्रे भइसकेको र सहायक सडकहरु पनि स्तरोन्नती हुने कार्य निरन्तर रुपमा अगाडी वढेको जानकारी दिए। नगरप्रमुख श्रेष्ठले आगामी आर्थिक वर्षको लागी नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।


























