काठमाडौ, असार ६ । काठमाडौँ उपत्यकामा अझ खुकुलो प्रावधानसहित निषेधाज्ञा थप्ने तयारी भएको छ। यसका लागि आज काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ।
सरकारले गत बुधबार निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेकाले त्यसैलाई आधार मानेर अघि बढ्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
काठमाडौँ उपत्यकामा संक्रमण घट्दै गएकाले अब यसअघि प्रतिबन्ध लगाइएका सबैजसो पसललाइ निश्चित समय वा फरक/फरक बार अनुसार सञ्चालन गर्न दिने तयारी भएको छ। यस्तै यातायातमा जोरबिजोर लगाउने, सरकारी कार्यालय सातामा दुई दिन बिदा दिनेजस्ता निर्णय हुन सक्ने प्रजिअ पराजुलीले बताए।
काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पटकरपटक थपेर असार ७ गतेसम्म पुर्याइएको छ। निषेधाज्ञाताका दैनिक ३ हजार वा सोभन्दा बढीमा संक्रमण देखिएकोमा अहिले उपत्यकामा दैनिक संक्रमित संख्या पाँच सय हाराहारीमा छ।


























