असार ३ । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा बेपत्ता भएका २० जनामध्ये चार जना सम्पर्कमा आएका छन्।
आज बिहान एक जनाको शव पनि फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। मृतक सिनो हाइड्रोमा कार्यरत चिनियाँ नागरिक छन्। उनको नाम पत्ता लागी नसकेको खनालले बताए।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अझै पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत २ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता भएका छन्। यसअतिरिक्त अरु ८ जना स्थानीय सम्पर्कबिहीन भएको प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। उनीहरुको खोजी जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए।
बुधबार दिनभरमा ७४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ। घाइते भएका ५ जना मध्ये ४ जनाको अस्पालमा उपचार भइरहेको छ। एक जनाको धुलिखेल अस्पताल र ३ जनाको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ।
उनका अनुसार बाढी पहिरोका कारण हालसम्म चार पक्की पुल र पाँचवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। यस्तै नदी आसपासमा रहेका सात वटा माछा फार्म बगेका छन्। बाढीबाट मेलम्ची नगरपालिकाका ६०० जना र हेलम्बु गाउँपालिकाका ३०० जना स्थानीयवासी प्रभावित भएको प्रशासनको आकलन छ।


























