बुटवल, जेठ ३० । लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
आइतबार बसेको प्रदेशसभा बैठकमा बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो। प्रदेश सरकारमा सहभागी सत्तारुढ एमालेका ३८ र जसपाका ४ सांसदले समर्थन गरेकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए।
प्रदेशसभामा विपक्षी दलमा कांग्रेसका १९, माओवादीका १८, जसपा उपेन्द्र समूहका २ र जनमोर्चाका १ विपक्षी गठबन्धनमा छन्। योसँगै मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई राहत मिलेको छ। नीति तथा कार्यक्रम पारितसँगै अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो खुलेको छ।
विपक्षी दलहरुले सरकार अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने बताइरहेको समयमा आइतबार बहुमतले पास भएको हो। प्रदेश प्रमुख धर्मनाथ साहले जेठ २५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।


























