चितवन, जेठ १९ । चितवनमा जारी निषेधाज्ञा जेठ २७ गते राति १२ बजेसम्म थप गर्ने निर्णय भएको छ। अहिले केहीबेरमा जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गर्दैछ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ।
चितवन प्रशासले गत बैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो। लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो। कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो।
चितवनमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ। चितवनमा हालसम्म कुल संक्रमितको संख्या १३ हजार ८८९ पुगेको छ भने ८ हजार ८२४ जना निको भएका छन्। यस्तै अहिले ४ हजार ८४५ जना सक्रिय संक्रमित रहेका छन्।


























