काठमाडौं, जेठ १८ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा आज पनि यसअघिकै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित न्यायाधीशहरू दिपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास तोकेका हुन्।
पछिल्लो प्रतिनिधिसभा विघटनको मुद्दाको प्रारम्भिक दुई दिन यिनै न्यायाधीश सम्मिलित संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ। इजलासमा संलग्न न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि सोमबारको सुनुवाई स्थगित गरिएको थियो। अरु दुई न्यायाधीश केसी र श्रेष्ठले आफूहरूले सुनुवाईलाई निरन्तरता दिने बताएपछि फेरि मंगलबार पनि यही इजलास कायम भएको हो।
संवैधानिक इजलासका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको सम्बन्धमा विपक्षी गठबन्धनका कानून व्यवसायीले प्रश्न उठाए पनि इजलास पुरानै कायम भएको छ।
विवादकै कारण सोमबार संवैधानिक इजलामा रहेका दुई न्यायाधीश केसी र श्रेष्ठको सन्दर्भ कुनै आदेश आएको थिएन। आजको इजलासमा सबैभन्दा पहिले यही विषय छिनोफानो भएर अरु प्रक्रिया अघि बढ्ने बताइन्छ।


























