चितवन, जेठ २ । विश्वभर दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ८ लाख २१ हजार २४६ जना संक्रमणमुक्त भएका छन्। २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै दुई लाखले धेरै हो।
पछिल्लो विवरणसँगै विश्वभर संक्रणमुक्त हुनेको संख्या १४ करोड २५ लाख ८१ हजार ४०७ पुगेको छ। कुल संक्रमितको आधारमा निको हुने दर ८७.३८ प्रतिशत हो।
यस्तै पछिल्लो २४ घण्टामा ६ लाख २७ हजार २२१ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड ३१ लाख ६९ हजार ३०० पुगेको छ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७२ लाख ४ हजार ६२८ छ। यसमध्ये १ लाख २ हजार ९५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार २६५ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ८२३ जनाको मृत्यु भएको छ।
अमेरिकामा घट्दै संक्रमण
कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भए पनि पछिल्ला दिनमा संक्रमितको संख्यामा कमी आएको छ।
अमेरिकामा २ करोड ७० लाखभन्दा धेरै कोरोना भाइरस संक्रणमुक्त भएका छन्। पछिल्लो २४ घण्टा एक लाख ९५३ जना संक्रणमुक्त भएकाछन्। योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड ७० लाख ९७ हजार ५९८ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ४८८ संक्रमितको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ९९ हजार ८३९ पुगेको छ।
त्यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ६२ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो।
पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड ३६ लाख ९५ हजार ३३६ पुगेको छ। हालसम्म अमेरिकामा पाँच लाख ९९ हजार २९९ जनाको मृत्यु भएको छ।
संक्रमण दर घटेपछि भारतमा जाग्दै आशा
दोस्रो लहरको हटस्पट बनेको भारतमा एक सातायता संक्रमितको दरमा कमी आएको छ। संक्रमणको दरमा कमी आएसँगै त्यहाँको जनजीवन विस्तारै पूर्ववत अवस्थामा फर्कने आशा जागेको अधिकारीहरूले जनाएका छन्।
तथापि पहिलो लहरको संक्रमण उच्च विन्दुमा पुग्दा एक लाख हाराहरीसम्म संक्रमित भेटिएको भारतमा अहिले पनि दैनिक तीन लाखभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएको छ।
लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको छ। संक्रमितको यो संख्या शनिबारको तुलनामा करिव १६ हजारले कम हो।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो। संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो। पछिल्लो सातायता भने दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ।
मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ। त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत रहेको टाइम्स अफ इण्डियाले जनाएको छ।
मे ८ मा भारतभर ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो। संक्रमितको दर घटे पनि मृत्युदर भने उल्लेख्यरुपमा घटेको छैन। अहिले पनि दैनिक चार हजारको हाराहारी संक्रमितको मृत्यु भइरहेको छ। पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ७० हजार ३१९ पुगेको छ।
यसैगरी ब्राजिलमा ४ लाख ३४ हजार ८५२ जनाको मृत्यु भएको छ। यस्तै रूसमा १ लाख १५ हजार ४८० जना, बेलायतमा १ लाख २७ हजार ६७५ जना, फ्रान्समा १ लाख ७ हजार ५३५ जना, इटालीमा १ लाख २४ हजार ६४ जनाको मृत्यु भएको छ।


























