काठमाडौं, बैशाख २७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्। एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ।
ओलीले सोमबार विहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे तत्काल बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने खनाल-नेपाल समूहले चेतावनी दिएको छ।
नेपाल समूहको आइतबार बसेको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिवद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार विहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो।
वरिष्ठ नेता नेपालले पठाएको पत्रमा अदालतको फैसला विपरीत महाधिवेशन आयोजक कमिटी गठन, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी खारेज, ३० सांसदलाई स्पष्टीकरण पत्र र चार जनालाई कारबाही गरिनु गल्ती भएको औंल्याइएको छ।
ओलीबाट भएका गल्तीहरु सच्याउन आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको पनि नेपालले पत्रमा उल्लेख गरेका छन्। विश्वासको मत लिने सन्दर्भमा पनि अन्य दलहरुसँग छलफल गर्ने, तर आफ्नै पार्टीभित्र भने शत्रुवत् व्यवहार गरिएको नेता नेपालको गुनासो छ। आइतबार प्रधानमन्त्री ओलीले जारी गरेको अपिलप्रति नेता नेपालले आपत्ति जनाएका छन्।
यी हुन् छ बुँदा
पहिलो– २ जेठ २०७५ अगाडिकै अवस्थामा पार्टी सञ्चालन गरिनुपर्ने,
दोस्रो– २८ फागुन यता भएका सवै निर्णय रद्द गरिनुपर्ने
तेस्रो– पार्टी विधि, विधान र पद्धति अनुरुप चल्नुपर्ने
चौथो– एकअर्कामा लगाइएको आरोपहरुबारे आगामी दिनमा समीक्षा गरी निर्णय लिनुपर्ने
पाँचौं– सरकार र पार्टी बीचको सम्बन्ध सुमधुर बनाउने
र छैटौं– पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने अनि यथा समयमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने
यसविपरित अगाडि बढेमा सांसद पदबाट राजीनामा दिन बाध्य हुने नेता नेपालको चेतावनी छ।


























