तवन, बैशाख १२ । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। सोही क्रममा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षीय विजय यादव रहेका छन्। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये आठ जना सामान्य छन्। उनीहरुको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बेपत्ता हुनेमा भारतको विहार घर भएका श्यामबाबु पाठक र सुनिल माझी छन्। उनीहरुको खोजी भइरहेको छ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान पुलमो काम गर्दै गर्दा फलामसहित मजदूर खसेका थिए। दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएकाको उद्धार गरिएको उनले जानकारी दिए। निर्माणाधीन सो पुलको केही भाग गत चैत्र २४ गते भाँचिएर नदीमा खसेको थियो। सो स्थानमा १४ मजदूरले काम गरिरहेका थिए। ठिमुरा र देवघाट गाउँपालिका–५, घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ। रासस


























