काठमाडौं, चैत्र १९ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम सम्बन्धमा गत फागुन २३ गते भएको फैसला दिएको पुनरावलोकन निवेदन अस्वीकृत भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गाना रहेको पूर्ण इजलाशले निवदेकको माग बमोजिम पुनरावलोकन हुन नपर्ने निर्णय गरेको छ। यो निर्णयसँग पुनरावलोकनको अध्याय टुङ्गिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलको पार्टीको हुने फैसला दुई जना न्यायाधीश रहेको संयुक्त इजलाशले गरेको थियो। प्रचण्डले ‘सर्वोच्च अदालतको स्थापित नजीर वा कानूनी सिद्धान्तको प्रतिकूल फैसला वा अन्तिम आदेश भएको’ जिकिर सहित पुनरावलोकनको निवेदन दर्ता गराएका थिए।
संयुक्त इजलाशले गरेको फैसला पूर्ण इजलाशले हेर्ने नियमअनुसार प्रधानन्यायाधीश सहित ३ जनाको इजलाशले निवेदन हेरेको थियो। यस्तो इजलाशमा फैसला वा अन्तिम आदेश गर्नेबाहेकका न्यायाधीश रहने नियम छ। यस्तो इजलाशले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्ने व्यवस्था छ।


























