चितवन, चैत्र ११ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गत बर्ष चैत ११ गते विहान ६ बजेबाट सुरु भएको लकडाउन घोषण गरेको दिन चैत ११ गते आज एक बर्ष पुरा भएको छ। लकडाउनका कारण सडक सुनसान रहेको थियो।
विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति हुने गर्थे। विगतदिन जस्तै अत्यावश्यक सेवा र पासबाहक गाडी बाहेक अन्य सवारी सञ्चालन हुन दिदैन थिए। प्रहरीले लकडाउनका समयमा हिड्नेहरुलाई कारवाही गर्थे। नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउन घोषणा गरी केही समयसम्म लकडाउन कायमै रहयो। लकडाउन अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको थियो।

पटकपटक गरी चार महिनासम्म लकडाउन भयो। अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो। लकडाउन हटेपछि बजार पसल खुले। ढिलो गरी भए पनि शैक्षिक संस्था खुले। सबै क्षेत्रमा चहलपहल बढ्यो। पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गयो। तर, भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा पुगेको छ।
कोरोनाको जोखिम फेरि बढेको छ। लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ। कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिए पछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ। जनस्वास्थ्यका मापदण्ड पालना हुन छोडेकाले जोखिम थप बढ्दै गएको छ।


























