काठमाडौँ, फागुन २५ । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई औपचारिकरुपमा खारेज गर्दै नयाँ दलको रुपमा एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने गराउने सम्बन्धमा मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो।
आयोगको २०७५ जेठ २३ को निर्णयले नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नामको राजनीतिक दल दर्ता भइ नेपाल राजपत्रा खण्ड ६८, अतिरिक्ताङ्क ८ (अ) मा प्रकाशन भएको सूचना सो राजपत्रबाट खारेज गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एकीकरणपछि बनेको नेकपा बदर भएकाले अब यी दुई दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा नयाँ नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन दुवै दललाई आग्रह गरिएको छ।


























