काठमाडौं, फागुन २१ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका वार्ता टोली सदस्यहरुले ३ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सरकार र विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्याहरु वार्तामार्फत समाधान खोज्ने, नेकपाले राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाई कारागारमा भएका नेता कार्यकर्ताको रिहाइ गर्ने सहमति भएको हो।
सहमति पत्रमा भनिएको छ ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ। नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिवन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पुर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ। ’
हस्ताक्षर कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो। सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा।राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो। विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दिपक सम्मिलित वार्ता टोली बनाएको थियो।
दुवै तर्फका वार्ता टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता गरि विहीबार सहमति गरेका थिए। सोही सहमतिलाई शुक्रबार विशेष समारोहका बीच हस्ताक्षरसहित सार्वजनिक गरिएको हो।
हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार भट्टराईले विगत एक वर्षदेखिको निरन्तरको प्रयास पछि वार्ता निष्कर्षमा पुगेको स्पष्ट पारे।


























