चितवन, फागुन २० । विद्यार्थीलाई हिंसात्मक शब्द प्रयोग गरेर म्यासेज पठाएको आरोपमा रत्ननगरका एक शिक्षक पक्राउ परेका छन्। रत्ननगर १० मा रहेको क्रिष्टल कलेजमा पढाउने शिक्षक हरि न्यौपाने पक्राउ परेका हुन्। कक्षा ११ र १२ मा अध्ययन गर्ने १५/२० जना छात्रालाई हिंसात्मक शब्द प्रयोग गरेर म्यासेज पठाएको आरोपमा कलेजका शिक्षक न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
विद्यार्थीले प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय टाँडीले न्यौपानेलाई आज (बिहीबार) बिहान उनलाई नियन्त्रणमा लिएको हो। शिक्षकबाटै विद्यार्थीमाथि हिंसा गरेको विषय बाहिर आएपछि आक्रोशित युवाहरुको समूहले कलेजमा तोडफोडसमेत गरेका छन्। तोडफोडबाट कलेजकाे भौतिक संरचनामा क्षति पुगेको छ।
कलेज तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका युवालाई तत्काल रिहाइको माग गर्दै विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय रत्ननगरकाे कार्यालयमा घेराउ गर्दै विद्यार्थीमाथि हिंसात्मक शब्द प्रयोग गर्ने शिक्षक र कलेजविरुद्ध चर्को नाराबाजी गरेका थिए।


























