काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनदेखि डराउन नहुने बताएका छन्। नुवाकोटमा आयोजित पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै सभापति देउवाले ढिलो चाडो हुने निर्वाचनका लागि कांग्रेस तयार भएर बस्नुपर्ने बताएका हुन्।
नेपालमा संविधान नबुझ्ने कोही नभएको बताउँदै सभापति देउवाले अदालतलाई विश्वास गर्न आग्रह गरे। ‘हिजो प्रचण्डहरुले अदालतलाई धम्काए पनि हामीले अदालतलाई विश्वास गर्नुपर्छ,’ उनले भने। अदालतमा बिचाराधीन मुद्धामा बोल्दा बिचार गर्नुपर्ने बताउँदैअदालतको निर्णय जे हुन्छ त्यसलाई मान्नुपर्ने उनकाे भनाइ छ।
चुनावकै लागि प्रचण्ड र ओली चुनाव चिन्हकाे लडाइँमा लागेकाेले चुनाव हुने अवस्था आएछ भने पनि त्यसकाे लागि सधैँ तयारी अवस्थामा बस्नुपर्ने उनले बताए। ‘चुनावबाट भाग्ने हो भने किन राजनीति गरेको,’ उनले भने, ‘बैशाखमा भए पनि जेठमा भए पनि दुई वर्षपछि भए पनि चुनावका लागि तयार हुनसक्नुपर्छ।’ अदालतले संसद पुनर्स्थापना गरे पनि दुई वर्षपछि चुनाव गराउनैपर्ने उनले बताए।


























