काठमाडौं, फागुन १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले हजारौं शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय पैदा भएको बताएका छन्।
जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूलो बलिदानी पछि प्राप्त उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको बताए।
उनले भने, “यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ। कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि? कहीँ हजारौं शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि? भन्ने खतरा पैदा भएको बेला छ। यस्तो बेलामा तपाईंहरुले यो जीवनगाथा प्रकाशित गरेर वैधानिक ढंगले अगाडि ल्याउनुभयो। यसको विशेष अर्थ र महत्व नेपालको इतिहासमा रहिरहने छ भन्ने म ठान्छु। यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ। ”


























