काठमाडौं २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीलाई निरन्तरता दिन आग्रह गरेका छन्। मंगलबार निर्वाचन आयोग पुगेर निर्वाचनको तयारी तीव्र बनाउन आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार निर्वाचनको तयारीबारे जानकारी लिन प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ आयोगको कार्यालय कान्तिपथ पुगेका थिए।
प्रमुख निर्वाचन आयुक्त दीनेश थपलियाले निर्वाचनको लागि आवश्यक बजेट, बन्दोबस्तीका सामानलगायतका विभिन्न विषयमा जानकारी गराएका थिए। गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै नेकपा दुई खेमामा विभाजित भएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेको पहिलो पटक हो। संसद विघटन गर्दै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन्। त्यसयता नेकपाकै अर्को खेमा र अन्य दलहरु भने संसद पुनर्स्थापनाको लागि सडकबाटै संघर्ष गरिरहेका छन्।


























