काठमाडौँ, माघ २३ । प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार संघीय राजधानी काठमाडौँमा आयोजित बृहत् जनसभामा कोभिड–१९ नियन्त्रण र उपचार खटेका सबैलाई धन्यवाद दिए। उनले कोभिड–१९ सँगको लडाइँमा खटेका चिकित्सक, नर्स, सेना, प्रहरी, एम्बुलेन्स चालक लगायत सबैको प्रसंशा गर्दै धन्यवाद दिए।
प्रधानमन्त्रीले कोभिडको समयमा सबै ‘स्थानीय निकाय’ ले अत्यन्तै प्रभावकारी काम गरेको भन्दै स्थानीय तहको पनि खुलेर प्रशंसा गरे। यस क्रममा उनले संघीय सरकारको कामको फेहरिस्त पनि सुनाए। उनले सरकारले कोभिडको खोप ल्याएको र अग्र मोर्चामा काम गर्नेहरुलाई खोप दिन थालेको बताए।
प्रधानमन्त्रीले कोभिड–१९ को नियन्त्रण र उपचारका सन्दर्भमा स्थानीय तहको र संघीय सरकारका कामको खुलेर सहराना गरे पनि प्रदेश सरकारको नाम लिएनन् । उनले प्रदेश सरकारको उच्चारण नै गरेनन्, मौन रहे। जनसभा भने नेकपाको वागमती प्रदेशले आयोजना गरेको थियो।
प्रधानमन्त्री ओलीलाई निटकबाट जान्नेहरुका अनुसार उनी हम्मेसी क्षमा याचना गर्दैनन्। हुन पनि ओलीले कुनै पनि सार्वजनिक सभामा ‘क्षमा चाहन्छु’ भनेको कहिल्यै सुनिएको थिएन।
बिहीबारको सभामा ओलीले जनसभाका कारण कठिनाइ उत्पन्न भएकोमा क्षमा याचना गरे। उनले भने, ‘हामीले दुःख दिन खोजेको होइन, दुईचार हजार मान्छे जम्मा गरेर हामीलाई ललकार्ने काम भयो, केपी ओली हेर्न आऊ भनियो, त्यसकारण हामी सडकमा आउनुपर्यो। म सबै पेशा, व्यवसायीप्रति क्षमाप्रार्थी छु।’ प्रधानमन्त्रीले सभाका कारणले काठमाडौँको ट्राफिक अस्तव्यस्त भएको पनि बताए। त्यसको बाध्यता बुझिदिएको भन्दै सबैलाई धन्यवाद दिए।


























