चितवन, माघ २२ । नेपाल बन्द गर्न हुदैन भनेर बन्दको बिरोध गर्दै आएको नेकपाले आज देशभर आम हड्ताल आह्वान गरेको छ। आजको बन्दले देशैभरको जनजीवन प्रभावित भएको छ। प्रचण्ड नेपाल समूहको बन्दमा शिर्ष नेताहरु सडकमा उत्रिएका छन्। काठमाडौंमा पार्टिका अध्यक्ष प्रचण्ड स्वयम सुरक्षा सहित सडकमा आएका छन्।
आफैंले देशव्यापि आम हड्तालको आह्वान गरेका पुष्पकमल दाहाल प्रचण्डलाई सुरक्षाकर्मीहरुले नै सुरक्षा दिइरहेकाछन्। अन्य स्थानमा बन्द कर्ताहरुलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिईरहेको खबर आईरहदा काठमाडौंमा भने प्रचण्डलाई सुरक्षाकर्मीहरुले साथ दिईरहेकाछन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको आमहडताल सफल पार्न अध्यक्ष प्रचण्ड स्वयम् सडकमा आएका छन्। आन्दोलनमा सहभागीहरुलाई उत्साहित पार्न प्रचण्ड सडकमा आएर केहीबेर सरकारको कदम बिरुद्ध नाराबाजी समेत गरेका थिए।
पूर्व प्रधानमन्त्री एंव पार्टी अध्यक्षको हैसियतमा सुरक्षा प्रदान गरिएको भए पनि आजको दिनमा उनको परिचय ‘बन्दकर्ता’ हो र बन्दकर्तालाई नै सुरक्षाकर्मीले सुरक्षा दिएको देख्दा बन्दको माहौल रमाइलो देखिँदो रहेछ।


























