चितवन १८ माघ । पर्यटन र पर्यावरण प्रवर्द्वन गर्ने उद्देश्यले आयोजना गरिएको ‘राइड टु सोमेश्वरगढी’को साइकल यात्रा पूरा भएको छ। ‘एक सपना-साइकल र सफा नेपाल’ र ‘वाह बाइक’ले संयुक्तरूपमा साइकल यात्रा आयोजना गरेको हो। माघ १६ गते शनिबार भरतपुर महानगरपालिकाबाट शुरु भएको यात्रामा विश्व साइकलयात्री पुष्कर शाहसहित चितवन र चितवनबाहिरका गरी १२० जना साइकलयात्री सहभागी थिए। माडीका लागि प्रस्थान गरेका साइकल यात्रीहरूले पहिलो दिन ऐतिहासिक सोमेश्वरगढीसम्मको यात्रा पूरा गरे।
दोस्रो दिन वैकुण्ठ तालसम्मको साइकल यात्रा गरी पुनः भरतपुर फर्किएका छन्। ८ देखि ५५ वर्ष उमेरसम्मका साइकल यात्रीको रहभागीता रहेको यात्रामा १० फुट ६ इञ्चसम्मको उचाइको साइकल निर्माण गरी राष्ट्रिय कीर्तिमान कायम राख्न सफल भारतस्थित चण्डिगढका राजीव कुमार ‘जोनी’लाई समेत निम्त्याइएको थियो। माडी नगरपालिकाको मुख्य सहयोग तथा आतिथ्यतामा भएको यात्रामा भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति चितवन, क्षेत्रीय होटल संघ, उद्याेग वाणिज्य संघलगायतका संघसंस्थाले सहकार्य गरेका थिए।

यात्राकै क्रममा माडी नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख ठाकुरप्रसाद ढकालले सहभागी साइकल यात्रीलाई धन्यवाद दिँदै सोमेश्वरगढीसहित माडीका रहेका पर्यटकीय, ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वका गन्तव्यबारे जानकारी गराएका थिए। त्यस्ता स्थानको प्रचारप्रसारमा जुट्न सबैको सहयाेग आवश्यक रहेकाे उनले बताए। पर्यटकीय क्षेत्रको विकासका लागि भने नगरपालिकाले निरन्तर काम गरिरहेको र आगामी दिनमा पनि काम गरिहने उनले बताए।
विश्व साइकल यात्री पुश्कर शाहले चितवनलाई प्रकृतिले नै रमणीय एवम् सुन्दर बनाएकाे बताए। ‘चितवनलाई प्रकृतिले नै सुन्दर सम्पदा दिएकाे छ,’ उनले भने, ‘यस्ता गन्तव्य चिन्न कसैले पनि ढिला गर्नुहुँदैन।’ ‘एक सपना-साइकल र सफा नेपालको’ संस्थाकी अभियन्ता रुक्मिणी सापकोटाले साइकल पर्यटन प्रवर्द्वन एवम् पर्यावरणको संरक्षण गर्ने माध्यम बनेकाे बताइन्। हरेक सहर साइकलमैत्री हुनुपर्नेमा उनले जोड दिइन्। कार्यक्रममा वाह बाइकका प्रबन्ध निर्देशक जीवन क्षेत्रीले यस्ता खालका कार्यक्रमलाई हरेक वर्ष आयाेजना गरेर निरन्तरता दिनुपर्ने बताए।

























