चितवन, माघ १७ । गृहमन्त्री रामबहादुर थापा बादलले संसद विघटन संवैधानिक छ भन्ने जवाफ विशाल जनसभाले दिएको बताएकाछन्। भरतपुरमा आयोजित जनसभामा बोल्दै गृहमन्त्री बादलले संसद विघटनलाई जनताले सदर गरिसकेको दावी गरे। फुटवाद, गुटवाद, अवसरवाद विरुद्ध जनसागरले जवाफ दिएको तर्क गरे। देशव्यापी जनसभाहरु शुद्धीकरण अभियानहरु भएको बताए।
उनले जनताले पार्टीका अवसरवादीहरुलाई किनारा लगाइसकेको बताए। विराटनगरमा फुटवादीले प्रतिनिधिसभा बैठक राखेर प्रधानमन्त्रीलाई निश्कासन गर्ने भनिएको घोषणाले उनीहरुले अस्थीरता चाहेको पुष्टि भएको बताए। देशलाइ वर्वादीतिर धकेल्न खोज्नेहरुले सरकारलाई अपदस्थ गर्न गरेको दुष्साहस संसद विघटन गरेर असफल पारिएको बताए। गृहमन्त्री बादलले सिंगो देश निर्वाचनमा होमिसकेको बताउदै आफूहरुले निर्वाचन जितिसकेको दावी गरे। निर्वाचन जितेर प्रधानमन्त्री बन्ने आट देखाउन प्रचण्डलाई चुनौति दिए। निर्वाचन जित्न मतपत्र च्यात्नु जरुरत नभएको भन्दै आफ्ना गल्ती स्विकार्न तयार हुन आग्रह गरे। उनले आत्मआलोचना सहित पार्टीमा फर्किन समेत आग्रह गरे।


























