काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन्। कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै नेपालीलाई खोप निःशुल्क उपलब्ध गराउने बताए। ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ,’ उनले भने, ‘कुनै भेदभावविना नै सबै नेपालीलाई निस्शुल्क रूपमा खोप लगाइन्छ।’
आजदेखि औपचारिक रुपमा नेपालमा कोरोनाविरुद्धको खोप सुरु गरिएको हो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाइनेछ। नेपालले कोरोनाविरुद्ध १० लाख डोज कोभिशिल्ड खोप भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो।
सरकारले आज १२ हजार जनालाई कोरोना खोप लगाउने तयारी गरेको छ। देशका १२० खोप केन्द्रबाट खोप लगाइन्छ। खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिए।


























