काठमाडौं, माघ २ । नेपाल आउने पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको छ। मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई बिहारको सिवान, नविगन्जमा फुटाएर हजारौं लिटर डिजेल चोरी भएको हो। सो स्थान नेपालका् सीमाबाट एक सय किलोमिटर पर पर्ने भारतीय मिडिया नवभारत टाइम्सले जनाएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले मोतीहारीस्थित प्रणालीमा प्रेसर कम भएपछि पाइपलाइनमा क्षतिको जानकारी भारतीय पक्षले तुरुन्तै पाएको थियो। आइओसीले पाइपलाइनमा आक्रमण भएको जानकारी आएको तर डिजल चोरी भए नभएको विषयमा जानकारी भने नपाइएको नेपाल आयल निगमले जनाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिले पाइपलाइनबाट नियमित रुपमा डिजल आपूर्ति भइरहेको बताए।
भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको छ। सो पाइपलाइनबाट हाल डिजेल आउने गर्दछ। नेपाल र भारतका प्रधानमन्त्रीले गत वर्ष भदौ २४ गते संयुक्तरुपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए।
पाइपलाइन आक्रमणबाट भएको क्षति नेपालले व्यहोर्न नपर्ने पनि निगमले जनाएको छ। पाइपलाइनमा क्षति गर्नेलाई भारतीय अधिकारीले पक्राउ गरेर कानुनी कारबाही सुरु गरेको जानकारी पाइए पनि विस्तृत विवरण भने आइनसकेको प्रवक्ता उपाध्यायको भनाइ छ।


























