काठमाडौं, पुस २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६र०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन्।
राष्ट्रिय सुरक्षा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष पेश गरेको सहायक प्रवक्ता घिमिरेले जनाएका छन्। सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।


























